मनास्लु क्षेत्रमा निरन्तर सुख्खा पहिरो, सेराङ गुम्बाका चार सय जनालाई खाद्यान्नको चिन्ता


१९, कात्तिक २०८३
मनास्लु क्षेत्रमा निरन्तर सुख्खा पहिरो, सेराङ गुम्बाका चार सय जनालाई खाद्यान्नको चिन्ता

काठमाडौं, कात्तिक १८, उत्तरी गोरखाको मनास्लु क्षेत्रमा लगातार सुख्खा पहिरो झर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्। चुमनुब्री गाउँपालिका–५ क्य्राकस्थित बुम्राङमा मंगलबार बिहानदेखि पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिएका छन्।

उनका अनुसार क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा पर्ने बुम्राङ क्षेत्रमा ठूलो पहिरो गएको हो। उक्त स्थान क्य्राकबाट करिब आधा घण्टाको पैदल दूरीमा पर्छ।

‘मंगलबार बिहान करिब ११ बजेतिर ठूलो आवाजसहित सेतो धुवाँ उडाउँदै पहिरो झरेको थियो। हामी दिउँसो एक बजेतिर हेर्न गएका थियौँ। राति फेरि त्यसैगरी पहिरो झरेछ। अहिले पनि निरन्तर झरिरहेकाले नजिक गएर हेर्न सकिएको छैन,’ लामाले भने।

लामाका अनुसार साकिमा डाँडाबाट सेराङ खोलासम्म करिब तीन सय मिटरभन्दा लामो क्षेत्रमा पहिरो झरेको छ। पहिरो खस्दा आगो फुकेको जस्तै सेतो धुवाँ उडिरहेको उनले बताए। पहिरो झर्ने क्रम जारी रहेकाले यसको वास्तविक फैलावट र क्षतिबारे यकिन गर्न नसकिएको उनको भनाइ छ।

पहिरोले सेराङ गुम्बासम्म पुग्ने बाटो प्रभावित भएपछि त्यहाँ रहेका करिब चार सय जनालाई दैनिक उपभोग्य सामग्री पुर्‍याउन समस्या हुने देखिएको छ। गुम्बामा करिब दुई सय लामा विद्यार्थी र गुरुहरू तथा वृद्धाश्रममा करिब दुई सय जना बस्दै आएका छन्।

‘गुम्बामा लामा पढ्ने विद्यार्थी मात्रै दुई सय जनाजति छन्। लामा गुरुहरू र वृद्धाश्रममा रहेका गरी करिब चार सय जना त्यहाँ छन्। पहिरोका कारण उनीहरूलाई खाद्यान्नलगायत आवश्यक सामग्री पुर्‍याउन समस्या हुने भयो,’ लामाले भने।

पछिल्लो समय गोरखाको हिमाली क्षेत्रमा सुख्खा पहिरो र हिमपहिरोका घटना दोहोरिन थालेपछि स्थानीयमा थप चिन्ता बढेको छ। गत असोज २५ गते सेराङ हिमालको पूर्वी भागमा खसेको हिमपहिरोले उङ्गिलुङ खोला थुनिएको थियो। त्यसपछि बूढीगण्डकी नदीमा बाढी आएको थियो।

उक्त घटनामा पहिरोले नदीको बहाव रोकेपछि पानी एकैपटक तलतिर बगेको थियो। बाढीले चुमनुब्री क्षेत्रका बस्ती, घर तथा पुलमा क्षति पुर्‍याएको थियो।

‘खै, अचेल हाम्रो हिमालतिर के भएको हो ?’ लामाले चिन्ता व्यक्त गर्दै भने।

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • ताजा अपडेट

    ट्रेन्डिङ

    सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend