काठमाडौं जलवायु सप्ताह १६ बुँदे जलवायु न्यायको आह्वान जारी गर्दै सम्पन्न

जलवायु संकट सम्बोधन गर्न सरकार र अन्तर्राष्ट्रिय समुदायलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह


१९, असोज २०८३
काठमाडौं जलवायु सप्ताह १६ बुँदे जलवायु न्यायको आह्वान जारी गर्दै सम्पन्न

काठमाडौं, असोज १९ — तीन दिनसम्म सञ्चालन भएको काठमाडौं जलवायु सप्ताह २०२६, १६ बुँदे काठमाडौं जलवायु न्याय आह्वान जारी गर्दै सम्पन्न भएको छ। अक्टोबर २ देखि ४ सम्म आयोजित कार्यक्रममा जलवायु विज्ञ, अनुसन्धानकर्ता, सांसद, सरकारी अधिकारी, नागरिक समाज, युवा, निजी क्षेत्र तथा जलवायुजन्य विपद्बाट प्रभावित समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

‘जलवायु उत्थानशीलताका लागि जलवायु न्याय : स्थानीय कार्यदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म’ भन्ने मूल विषयमा आयोजित कार्यक्रममा जलवायुजन्य क्षति तथा नोक्सानी, जलवायु वित्त, जलवायु कूटनीति, वैज्ञानिक अनुसन्धान, नीति निर्माण, चक्रीय अर्थतन्त्र तथा निजी क्षेत्रको भूमिकालगायत विषयमा छलफल भएको थियो।

आयोजक समितिका तर्फबाट दीक्षा थापा मगरले प्रस्तुत गरेको १६ बुँदे घोषणापत्रमा जलवायु संकट सम्बोधन गर्न प्रभावकारी नीति तथा कानुन निर्माण, वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता, पूर्वानुमानयोग्य तथा अनुदानमा आधारित जलवायु वित्त सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।

त्यस्तै, जलवायु कूटनीतिलाई थप प्रभावकारी बनाउने, जलवायुजन्य विपद्बाट प्रभावित समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, जलवायु न्यायसम्बन्धी ऐन ल्याउने तथा संसदमा जलवायु विषय हेर्ने स्थायी संयन्त्र निर्माण गर्नुपर्ने माग गरिएको छ। अन्तर्राष्ट्रिय जलवायु वार्तामा नेपालको प्रतिनिधित्व र प्रभावकारी सहभागिता थप सुदृढ गर्न पनि आह्वान गरिएको छ।

कार्यक्रममा रसुवा–भोटेकोशी क्षेत्रमा हालै भएका बाढी तथा पहिरोजस्ता विपद्का प्रभाव पनि विशेष रूपमा उठाइएको थियो। प्रभावित बालबालिका तथा युवाहरूले आफ्ना अनुभव, समस्या र माग प्रस्तुत गर्दै जलवायुजन्य विपद्बाट प्रभावित समुदायको आवाज नीति निर्माणको केन्द्रमा पुग्नुपर्ने बताएका थिए।

कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जलवायु संकट सामना गर्न सरकार, नागरिक समाज, निजी क्षेत्र, अनुसन्धानकर्ता तथा समुदायबीच सहकार्य आवश्यक रहेको बताए।

आयोजकहरूले काठमाडौंलाई दक्षिण एसियाली क्षेत्रमा जलवायु न्यायसम्बन्धी पैरवी, संवाद र कार्यको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने उद्देश्य रहेको बताएका छन्।

कार्यक्रम क्रिएसन, क्लाइमेट रिस्क एन्ड रेजिलियन्स ल्याब, अल इन फाउन्डेसन, नेपाल क्लाइमेट सेन्टर, नेपाल पिसबिल्डिङ इनिसिएटिभ, इन्स्टिच्युट फर रुरल डेभलपमेन्ट, विन्ड पावर नेपाल, नेपाल बार एसोसिएसनलगायत विभिन्न संस्था तथा साझेदारहरूको सहकार्यमा आयोजना गरिएको थियो। काठमाडौं जलवायु सप्ताहको निरन्तरताका रूपमा ‘एलिफेन्ट्स इन द फग’ नामक वृत्तचित्रको सार्वजनिक प्रदर्शन अक्टोबर ५ मा गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

 

सम्बन्धित समाचार

  • हिमालमा दोब्बर वर्षा, तराईमा खडेरीको संकेत: सरदर मनसुनले देखायो नेपालको बदलिँदो वर्षा चक्र

    काठमाडौं | यस वर्ष नेपालमा मनसुन अवधिको समग्र वर्षा सरदरको हाराहारीमा रह्यो। तर देशभर वर्षाको

  • आन्तरिक तयारी कमजोर हुँदा नेपालको जलवायु न्यायको दाबी कमजोर

    काठमाडौं:नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायुजन्य क्षति र नोक्सानीबापतको क्षतिपूर्तिको माग गर्दै

  • जलवायु संकट सामना गर्न नेपाल–भारत–चीनबीच त्रिपक्षीय संयन्त्र बनाउन भारतीय प्राध्यापकको प्रस्ताव

    काठमाडौं भारतीय प्राध्यापक अनिलकुमार महापात्राले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend