काठमाडौं, असोज ७ — तीन वर्षअघि नेपालको सगरमाथा क्षेत्रबाट ‘विश्वको छानो’ जोखिममा रहेको चेतावनी दिएका संयुक्त राष्ट्रसंघका महासचिव अन्तोनियो गुटेरेसले जलवायु संकटको असर अनुमान गरिएभन्दा छिटो र गम्भीर रूपमा देखिन थालेको बताएका छन्। उनले जलवायु परिवर्तनबाट सबैभन्दा कम योगदान गरेका कमजोर तथा विकासशील देशले नै यसको ठूलो मूल्य चुकाइरहेको भन्दै बढी प्रदूषण गर्ने पक्षले क्षतिको जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय बहसको उद्घाटन सत्रमा मंगलबार बोल्दै गुटेरेसले तीन वर्षअघि नेपालमा आफूले व्यक्त गरेको चिन्ता अहिले झनै वास्तविक बन्दै गएको बताए। हिमनदी पग्लिने क्रम, चरम मौसमी घटना र बढ्दो जलवायुजन्य विपद्ले विश्वलाई आफूले सोचेभन्दा छिटो संकटतर्फ धकेलिरहेको उनको भनाइ थियो।
नेपालमा गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा जनधन र भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो। पछिल्ला वर्षमा देखिएका यस्ता घटनाले हिमाली तथा पहाडी क्षेत्रमा जलवायु संकटको जोखिमलाई थप उजागर गरेका छन्।
गुटेरेसले जलवायु संकटलाई पुस्ताहरूबीचको असमानताको विषयसमेत बताएका छन्। आजको पुस्ताले गरेको प्रदूषण र स्रोतको अत्यधिक प्रयोगको मूल्य भावी पुस्ता र कमजोर समुदायले तिर्नुपर्ने अवस्था अन्यायपूर्ण रहेको उनको भनाइ छ।
उनले विकासशील देशहरूलाई जलवायु परिवर्तनसँग अनुकूल हुन उपलब्ध गराइने आर्थिक सहयोग पर्याप्त नभएको भन्दै विकसित देशहरूले अनुकूलनका लागि उपलब्ध आर्थिक सहयोग तीन गुणासम्म बढाउनुपर्ने माग दोहोर्याए। जलवायु परिवर्तनबाट भएको क्षति तथा नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको कोषलाई पनि पर्याप्त स्रोतसहित प्रभावकारी बनाउनुपर्ने उनको जोड थियो।
गुटेरेसले रुस–युक्रेन युद्ध सुरु भएयता पाँच ठूला पश्चिमी तेल कम्पनीले कमाएको करिब पाँच खर्ब अमेरिकी डलर बराबरको नाफा र विकासशील देशहरूको जलवायु अनुकूलनका लागि उपलब्ध अन्तर्राष्ट्रिय सार्वजनिक आर्थिक सहयोगबीचको अन्तर प्रस्तुत गर्दै विश्वव्यापी जलवायु वित्तमा रहेको असमानताप्रति ध्यानाकर्षण गराए।
नेपालजस्ता हिमाली देशका लागि गुटेरेसको सन्देश अझ महत्वपूर्ण छ। जलवायु परिवर्तनमा तुलनात्मक रूपमा कम योगदान भए पनि यसको असर बाढी, पहिरो, हिमनदी पग्लिने क्रम, पानीका स्रोतमा परिवर्तन र जीविकोपार्जनमा देखिँदै आएको छ।तीन वर्षअघि सगरमाथाबाट उठाइएको ‘विश्वको छानो’को प्रश्न अहिले महासभाको विश्वव्यापी बहसमा पुनः आएको छ।