काठमाडौं- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सगरमाथा संवादमार्फत नेपालमा जलवायु परिवर्तनका असर र समस्या विश्व समुदायमाझ प्रभावकारी रूपमा प्रस्तुत गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नेपाल सरकारले जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्दैछ। सो संवादलाई सफल बनाउन विभिन्न क्षेत्रका सरोकारवालाहरूसँग परामर्श जारी छ। हिजाे काठमाडौंमा साथसाथै संस्थाले हालै सोलुखुम्बुको थामेमा आयोजना गरेको जलवायु संवाद कार्यक्रमको प्रतिवेदन मन्त्री शाहीलाई बुझाएको अवसरमा मन्त्री शाहीले भने, “थामेजस्तो संवेदनशील क्षेत्रमा जलवायु परिवर्तनका कारण बाढी, क्षति र स्थानीयको पीडाले देखाउँछ कि अब हिमालदेखि समुद्री टापुसम्मको आवाज एकताबद्ध हुन आवश्यक छ। सगरमाथा संवादले यही साझा धारणा निर्माणमा योगदान पुर्याउनेछ।”
थामेको पीडा संवादमा समेटिने
मन्त्री शाहीले स्थलगत अध्ययन र सुझावको कदर गर्दै थामेमा भएको जलवायु क्षतिबारे सगरमाथा संवादमा औपचारिक छलफल गरिने स्पष्ट पार्नुभयो। उहाँले स्थानीय समुदायको आवाजको प्रतिनिधित्व गर्ने कार्यमा साथसाथै संस्थाको योगदानप्रति आभार प्रकट गर्नुभयो।
साथसाथै संस्थाकी अध्यक्ष प्रजिता कार्कीले थामे क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर, बाढीपछिको अवस्था र स्थानीयवासीको अनुभूतिका आधारमा तयार पारिएको प्रतिवेदन मन्त्रीसमक्ष प्रस्तुत गर्नुभएको थियो।
अन्तरराष्ट्रिय मञ्चमा नेपालको पक्ष स्पष्ट गर्नुपर्ने सुझाव
कार्यक्रममा साथसाथै न्यूज डटकमका प्रधान सम्पादक तथा अन्तरराष्ट्रिय पत्रकार महासंघका कार्यकारी सदस्य बद्री सिग्देलले नेपालको जलवायु संकटका सन्दर्भमा अन्तरराष्ट्रिय मञ्चहरूमा प्रभावकारी पैरवीको आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “नेपालजस्तो हिमाली देशमा जलवायु परिवर्तनको प्रभाव गम्भीर छ। त्यसैले हानिको क्षतिपूर्तिका लागि अन्तरराष्ट्रिय समुदायसमक्ष मजबुत माग राख्न जरुरी छ।”
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसंग साथसाथैको टिमकाे तस्बिर