काठमाडौं - कर्णालीको मुटुमा अवस्थित रारा ताल, जसलाई स्वर्गको टुक्रा भन्दा कम भन्न मिल्दैन। यहाँको नीलो पानीमा पर्वतहरूको छायाले यस्तो गहिरो सौन्दर्य र शान्ति मनमा सिर्जना गर्छ कि एक झलकले नै यात्रुलाई सपनाको संसारमा हराइदिन्छ। वरपर हरियालीले घेरेको ताल, चराचुरुङ्गीको मधुर आवाज, शान्त हावा, र तालको लहरहरूको मिठासले समयलाई नै टक्क राेकिएको महसुस गराउँछ।
रारा तालको किनारमा बसेर चन्द्रमाको छायाले पानीमा बलेको दृश्यले यहाँ धर्तीमा स्वर्ग यहीँ कतै छ भन्ने आभास गराउँछ। दिनमा तालको पानी नीलो आँखाजस्तो चम्कन्छ, अनि साँझमा सुनौलो रङले वरपरको वातावरणलाई रहस्यमयी र शान्त बनाउँछ। यति शान्ति सायदै मैले पहिले कहिल्यै अनुभूत गरेकी थिएँ; तालको किनारमा बसेर आफ्ना चिन्ता र थकानलाई हावासँगै बग्न दिएँ।
तर, यो स्वर्गीय दृश्यको भित्री कथा भने यति शान्त छैन। स्थानीय बासिन्दाहरूका लागि रारा केवल प्राकृतिक सौन्दर्य मात्र होइन, उनीहरूको जीवन र संघर्षको हिस्सा पनि हो। पछिल्लो समय जलवायु परिवर्तनले यहाँ गम्भीर असर पुर्याएको छ। ८० वर्षीय लोकबहादुर भाम र उनकी पत्नी ७३ वर्षीय जुना भाम, जो स्याउ खेतीमा निर्भर छन्, बदलिएको मौसमको असर सम्झँदै दुःख व्यक्त गर्छन्। जुना भन्छिन्, "पहिले खेती राम्रो हुन्थ्यो, हिउँ र पानी समयमा पर्थ्यो, तर अहिले मौसमले धोका दिँदैछ। हामीले सोचेभन्दा फरक नतिजा आउँछ।"
रारा क्षेत्रका पहाडमा सल्लाका रुखहरू बढ्दै जाँदा पानीका मुहानहरू सुक्दैछन्, जसले कृषिमा नकारात्मक असर पार्दै उत्पादन घटाएको छ। यहाँका युवा पनि यी समस्याहरूले पिल्सिएका छन्। १८ वर्षीय रबिन्द्र थापा, जो होटलमा काम गर्दै पढ्न सकेका छैनन्, भविष्यमा डाइभर भएर गाडी चलाउने इच्छा व्यक्त गर्छन्। अर्कोतर्फ, १९ वर्षीय धन बहादुर राना आर्थिक समस्याका कारण उच्च शिक्षा पाउन संघर्षरत छन्। रानाले भने, "दशै, तिहारको विदाका समयमा ताल्चाबाट रारासम्मको पैदल यात्रा गर्दै घोडामा सामान तथा मानिसलाई बोकेर सहजिकरण गर्छु। यसो गरेन भने दैनिक गुजार्न कठिन हुन्छ।"
स्थानीय तथा निकुञ्जमा कर्मचारी आवद्ध बरम रोकायले भने, भर्खरै सम्पन्न वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै’को संयुक्त आयोजनामा दुईदिने जलवायुसम्बन्धी कार्यशाला सम्पन्न भएको छ। यो कार्यशाला जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका विषयमा केन्द्रित थियो र पाँचबुँदे घोषणापत्र जारी गरिएको छ। यो खुसिको कुरा हो। रारा निकुञ्जका मुद्दाहरू उठाउँदै उनले थपे, “कर्णालीका लागि यो कार्यशाला एउटा सुनौलो अवसर हो, र यसबाट केही ठोस नतिजा आउने आशा गरिरहेका छौं।”
रारा तालको यात्रा भनेको केवल प्राकृतिक सौन्दर्यको अनुभव मात्र होइन, यो यहाँका बासिन्दाहरूको संघर्ष र आशाको प्रत्यक्ष साक्षात्कार पनि हो। यहाँ आउँदा जति स्वर्गीय अनुभव हुन्छ, उतिनै गहिरो भावनात्मक सम्बन्ध पनि स्थापित हुन्छ। रारा तालको प्रत्येक लहरमा एउटा कथा छ, प्रत्येक हावाको झोक्कामा संगीत, अनि हरेक कुनामा सपना लुकेको छ।
यदि शहरी जीवनको थकान मेट्न र प्रकृतिको काखमा शान्ति खोज्न चाहनुहुन्छ भने, एक पटक रारा ताल अवश्य पुग्नुस्। यहाँको सौन्दर्य र यहाँका बासिन्दाहरूको संघर्ष तपाईँको सम्झनामा सधैंका लागि बस्नेछन्।
जलवायुसम्बन्धी कार्यशालाका झलकहरु


