काठमाडौं- शनिबारदेखिको निरन्तरको वर्षा र सोमबार रातिदेखिको भारी वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी, पहिरो गएको छ भने तराईका क्षेत्र डुबानमा परेका छन्।
मकवानपुरमा एक जनाको मृत्यु, छ बेपत्ता
मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो। पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ।
अक्कल बहादुर, उनका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी ,नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए।
काठमाडौँका विभिन्न क्षेत्र जलमग्न
अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।
उनले भने, 'भारी वर्षाले काठमाडौँका विभिन्न क्षेत्र डुबानमा परेका छन्, डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ, सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ।'
यसैगरी भारी वर्षाका कारणसडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ। काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ। विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११:०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
बाढीकै कारण काठमाडौँको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। अविरल वर्षाका कारण उपत्यकाका नदी अझै बढ्ने आकलन गरेर ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आम नागरिकलाई आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिए।
बाढीबाट गोदावरीधामका मठमन्दिरमा क्षति
गए रातिको वर्षासँगै कैलालीको गोदावरी नदीमा आएको बाढीले गोदावरीधाम परिसरमा रहेका मठमन्दिरमा क्षति पुर्याएको छ।
नदीमा आएको बाढीले धाम परिसरमा श्राद्ध गर्न बनाइएको कुण्ड, पिण्डस्थलका साथै श्रीयन्त, विष्णु मन्दिर, शिवमन्दिर, बटुक बस्ने घरलगायतका संरचनामा क्षति पुर्याएको छ। धेरै संरचना बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र बालुवाले पुरिएका छन्।
बाढीले धाम परिसरमा जडान गरिएको सोलार बत्तीका साथै नदीको कतिपय भागको तटबन्धनमा पनि क्षति पु्र्याएको छ। धाम विकास समितिका पदमराज जोशीले राति नदीमा आएको बाढीले धाम परिसरमा क्षति पुर्याएको बताए।
धाममा बस्दै आएका बटुक खगेन्द्र बिनाडीले बाढीपछि जोखिममा परेका बटुक र सन्त महन्तलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाको संयुक्त पहलमा उद्धार गरिएको थियो। बाढीले धाम आसपासमा रहेका पशुचौपाया बगाएको जनाइएको छ।
यसैबीच वर्षासँगै धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गतको बुढीतोला सडकखण्ड ठाउँ–ठाउँमा भासिँदा यातायात आवागमन अवरुद्ध भएको छ।
पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध
घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ। घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
वर्षात्का कारण गए राति खसेको पहिराका कारण सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए। उनका अनुसार सोमबार पहिरो खसेको ठाउँमा पुुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध हुनपुगेको हो।
सडक सञ्चालनका लागि पहिरो हटाउने काम भइइरहेको छ। सडक अवरुद्ध हुँदा घोराही–लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन्।
पहिराले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध
अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। अविरल वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।
मध्यपहाडी लोकमार्गमा एकतर्फी सडक सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ। गलुवाको पहिरो हटाएर करिडोर सञ्चालन गर्न जेसिबी पठाए पनि त्यसले सडक खुलाउन नसकेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो। उक्त सडक खुलाउन ठूलो डोजर नै पठाउनुपर्ने भएकाले पालिका केही समय लाग्ने जानकारी दिएको उनको भनाइ छ।
'वर्षा ठूलो भयो, राति पहिरो गएपछि दुईवटै सडक अवरुद्ध छन्, सडक खुलाउने प्रयास भएको छ, मध्यपहाडी लोकमार्ग केहीबेरमा सञ्चालनमा आउने देखिएको छ भने करिडोर खुलाउन केही समय लाग्छ, निकै ठूलो पहिरो गएको हुँदा पन्छाउन ठूलो मेसिन चाहिन्छ,' उनले भने, 'अहिले वर्षा कम भएको छ, मेसिनले काम सुरु गर्यो भने करिडोर दिउँसोसम्म खुल्ला।'
करिडोर अवरुद्ध हुँदा जिल्ला सदरमुकामबाट दक्षिण बागलुङको जैमिनी, बलेवा, बरेङलगायतका क्षेत्र सीधा यातायात हुनसकेको छैन भने लोकमार्ग अवरुद्ध हुँदा बुर्तिबाङ, गलकोटबाट काठमाडौँ, पोखारा, चितवन, बागलुङलगायतका ठाउँमा जाने गाडी सडकमै रोकिएका छन्। बागलुङ बजारबाट पश्चितर्फ सञ्चालन हुने गाडी पनि सडकमै ठप्प भएका छन् भने यात्रु बीचबाटोमा अलपत्र परेका छन्।
विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
आज बिहान प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिराबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन्।
प्रधानमन्त्री दाहालले उद्धार, राहत र पुनस्र्थापनाका लागि सम्पूर्ण ढङ्गले सक्रिय हुन पनि निर्देशन दिएका छन्। वर्षाका कारण आएको बाढीपहिराले मुलुकका विभिन्न ठाउँमा जनधनको क्षति पुर्याएको छ। काठमाडौँ उपत्यकामा समेत बाढी र डुबानको समस्या देखिएको छ। अन्य धेरै जिल्लामा सर्वसाधारण प्रभावित भएका छन् भने सडक पहिराले अवरुद्ध बनेका छन्।