काठमाडौं, असोज १३ — लगातारको वर्षा, हिमपात र पहाडी भू–भागमा बढेको अस्थिरतासँगै नेपालको हिमाली क्षेत्रमा अर्को ठूलो प्राकृतिक विपद् थपिएको छ। मनाङको नार्पाभूमि गाउँपालिकास्थित ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालको आधार शिविरमा गएको हिमपहिरोमा चार जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता छन्। यहीबीच मुस्ताङको लेते क्षेत्रमा पहाडको ठूलो भाग कालीगण्डकी नदीमा खस्दा नदीको बहाव केही समय अवरुद्ध भएको छ भने सडक, विद्युत् र सञ्चार पूर्वाधारमा व्यापक क्षति पुगेको छ।
हिमलुङ हिमालमा आइतबार गएको हिमपहिरोले आरोहणका लागि आधार शिविर तयार पारिरहेका कामदार र गाइडहरू बसेको क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघका अनुसार आइतबार छेबी भोटे र पासाङ भोटेको शव भेटिएको थियो भने सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव पनि उद्धार गरिएको हो। चारै जनाको पहिचान भइसकेको संघले जनाएको छ।
हिमपहिरोपछि बेपत्ताको संख्या र उद्धारसम्बन्धी विवरणमा प्रारम्भिक चरणमा केही फरक तथ्य सार्वजनिक भएका थिए। पछिल्लो विवरणअनुसार १२ जना अझै सम्पर्कविहीन छन्। उनीहरू आरोहण टोलीका सहयोगी तथा भान्से कामदार रहेको नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघले जनाएको छ। घटनापछि मिङ्मा जी शेर्पाको नेतृत्वमा पर्वतीय उद्धार टोली हेलिकोप्टरमार्फत आधार शिविर पुगेको थियो। अत्यधिक चिसो, बाक्लो हिउँ र अस्थिर भू–भागका कारण खोजी कार्य अत्यन्त कठिन बनेको उद्धारकर्ताहरूले बताएका छन्।
हिमलुङको घटना यस वर्षको शरद् आरोहण सिजन सुरु हुनुअघिनै हिमाली क्षेत्रमा देखिएको मौसमीय जोखिमको गम्भीर संकेतका रूपमा आएको छ। खराब मौसमका कारण यसअघि मनास्लुमा पनि आरोहण टोलीहरू शिखर प्रयासबाट फर्किएका थिए। लगातारको हिमपात, तीव्र हावा र हिमपहिरोको जोखिम बढेपछि केही टोलीले आरोहण स्थगित गरेका थिए।