नुवाकोट, असोज २ — भोटेकोशी बाढीबाट विस्थापित भएर नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितको संख्या घट्दै गएको छ। एकैदिन २ सय २१ जना होल्डिङ सेन्टरबाट बाहिरिएपछि हाल ६ सय ११ जना मात्रै आश्रित रहेका छन्।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार असोज १ गतेसम्म जिल्लाका १३ वटा होल्डिङ सेन्टरमा ८ सय ३२ जना बसिरहेका थिए। त्यसअघि भदौ ३१ गतेसम्म भने १ हजार १ सय ८५ जना आश्रित थिए। बाढीपछि सुरुमा २६ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइए पनि प्रभावितको संख्या घट्दै गएपछि हाल १३ वटामा सीमित गरिएको प्रशासनले जनाएको छ। हाल आश्रय लिइरहेका ६ सय ११ जनामध्ये ३ सय २ जना महिला छन्।
नुवाकोटका होल्डिङ सेन्टरमा नुवाकोट र रसुवाका बाढी प्रभावितले आश्रय लिइरहेका छन्। हाल सबैभन्दा धेरै बट्टार कभर्ड हलमा १ सय ६७ जना छन्। सुलक्षणा माध्यमिक विद्यालयमा ९४, चण्डी आधारभूत विद्यालय मैरीटारमा ८२ र विदुर–७ तुप्चेको केन्द्रमा ७० जना बसिरहेका छन्। महादेव क्याम्पस रातमाटेमा भने सबैभन्दा कम ८ जना आश्रित छन्।
होल्डिङ सेन्टर खाली हुँदै जानुका विभिन्न कारण छन्। कतिपय प्रभावित सहरी क्षेत्र तथा काठमाडौंलगायतका स्थानमा कोठा भाडामा लिएर सरेका छन् भने कतिपय आफन्त, नातेदार तथा छिमेकीको घरमा गएका छन्। केही विद्यालयमा पठनपाठन पुनः सञ्चालन गर्नुपर्ने भएपछि त्यहाँ रहेका प्रभावितलाई पनि अन्यत्र सारिएको प्रशासनले जनाएको छ।
राहत तथा उद्धारको प्रारम्भिक काम सकिएसँगै सरकारले यातायात सञ्चालन, पुनःमार्ग निर्माण र पुनःस्थापनाका कामलाई अघि बढाउन थालेको छ। यही क्रममा केही प्रभावितले आफूहरू बस्दै आएको होल्डिङ सेन्टर छाडेर वैकल्पिक स्थान खोज्न थालेका छन्।
टेन्टमा सरे बाढीपीडित
विदुरस्थित किरियापुत्री भवनमा सञ्चालन गरिएको होल्डिङ सेन्टर अहिले पूर्णरूपमा खाली भएको छ। त्यहाँ नुवाकोटको बेत्रावतीस्थित सातबिसे र रसुवाको खाल्टेका ३७ घरपरिवार बस्दै आएका थिए। उनीहरू पीपलटारमा तीन रोपनी जग्गा पाएपछि त्यहाँ सरेका हुन्। स्वयंसेवक रमेश श्रेष्ठका अनुसार प्रभावित परिवार दुई वर्षका लागि उक्त स्थानमा सरेका हुन्। नयाँ स्थानमा सहयोगी संस्थाले उपलब्ध गराएको टेन्ट तथा त्रिपाल राखिएका छन्।
बाढीपीडित कोपिला लामा तामाङले सामूहिक निर्णय गरेर होल्डिङ सेन्टर छाडेको बताइन्। ‘एकै ठाउँमा साँगुरिएर बस्दा गर्मीमा समस्या भयो। जग्गा पनि फेला परेपछि सामूहिक निर्णय गरेर सरेका हौं,’ उनले भनिन्।
अर्की पीडित कान्छीमाया तामाङले पनि धेरै मानिस एकै ठाउँमा बस्दा स्वास्थ्यको जोखिम बढेको बताइन्।
‘एकै ठाउँमा धेरै जना बस्दा रोगव्याधिको पनि डर भयो। अरूले जग्गा फेला पारेर टेन्टमा बस्ने निर्णय गरेपछि मैले पनि सहमति जनाएकी हुँ,’ उनले भनिन्।
विदुर नगरपालिका–५ पीपलटार लामिबगैंचास्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा बसेका देवीघाटका ४० घरपरिवार पनि नजिकैको चौरमा टेन्ट हालेर सरेका छन्। विद्यालयका प्रधानाध्यापक वासुदेव पनेरुका अनुसार केही परिवार पीपलटारफाँट, माझीटार, बट्टार तथा काठमाडौंमा कोठा लिएर गएका छन्। विद्यालय नजिकैको चौरमा हाल २५ वटा टेन्ट राखिएका छन्।
देवीघाटका बाढीपीडित नवीन चित्रकार भने बाढीले क्षति पुर्याएको आफ्नो घर सफा गर्न थालेका छन्। अहिले आफन्तको घरमा बसिरहेका उनले घरलाई पुनः बस्न योग्य बनाउन सकिन्छ कि भनेर सरसफाइ गरिरहेको बताए।
‘अहिले आफन्तको घरमा बसेको छु, घर सरसफाइ गरेर फेरि बस्न योग्य बनाउन सकिन्छ कि भनेर लागेको छु,’ उनले भने। विदुर–१० सातबिसे बेत्रावतीका तेन्जिङ तामाङका लागि पनि होल्डिङ सेन्टर लामो समय बस्ने ठाउँ होइन भन्ने लागेको छ। बाढीले ठूलो क्षति पुर्याए पनि अबको जीवनलाई व्यवस्थित बनाउने प्रयासमा आफूहरू रहेको उनले बताए। ‘बाढीले तहसनहस त पार्यो नै, तर धेरै तनाव लिएर के गर्नु ? अबको जीवन शान्तिपूर्वक गुजार्न अलि फराकिलो ठाउँ खोज्दै आश्रित केन्द्र छाडेको हुँ,’ उनले भने।
तीन साताअघि आएको बाढीले नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र किस्पाङ गाउँपालिकामा ठूलो क्षति पुर्याएको थियो। विदुरका वडा नम्बर १, ३, ४, ५, ६, ७, ८, ९ र १०, बेलकोटगढीका वडा नम्बर ५, ७ र ८, किस्पाङको वडा नम्बर ५ तथा तारकेश्वरका वडा नम्बर २ र ४ प्रत्यक्ष प्रभावित भएका छन्।
पुल नहुँदा राहत वितरणमा समस्या
बाढीले त्रिशूली नदीमाथिका पुलहरू बगाएपछि नदीपारिको पश्चिमी क्षेत्रमा राहत पुर्याउन अझै समस्या भइरहेको छ। पुल नभएका कारण राहत सामग्री लैजान घुमाउरो बाटो तथा वैकल्पिक सडक प्रयोग गर्नुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ। तीन साताको अवधिमा नुवाकोटका विभिन्न स्थानका लागि ४ सय ७७ वटा संघसंस्थामार्फत राहत संकलन भएको छ। तर, क्षतिग्रस्त पुल तत्काल सञ्चालनमा आउन नसक्दा राहत वितरण र आवतजावत सहज हुन सकेको छैन। प्रशासनका अनुसार राहत तथा उद्धारका लागि १४ वटा वैकल्पिक सडक मार्ग प्रयोगमा ल्याइएको छ। गृह मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधि सम्मिलित संयन्त्रमार्फत एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको छ।
प्रशासकीय अधिकृत रूपेशप्रसाद नेपालका अनुसार राहत सामग्री जिल्ला समन्वय समितिको हल, मैथिली ब्यारेक र विदुर नगरपालिकाको कार्यालयमा संकलन गरी वितरण भइरहेको छ।
हालसम्म १ हजार ९० वटा ठाउँमा राहत वितरण गरिएको प्रशासनले जनाएको छ। विदुर नगरपालिका–स्थित त्रिशूली बजार र कोलोनीका बाढी प्रभावितलाई भान्साका सामग्रीसमेत वितरण गरिएको छ। स्थानीय ३ सय घरपरिवारलाई ग्याससहितको सिलिन्डर र किचन सेट उपलब्ध गराइएको छ।
पुल र अस्थायी आवासको माग गर्दै प्रदर्शन
बाढी आएको तीन साता बितिसक्दा पनि आवतजावत सहज हुन नसकेको भन्दै बाढी प्रभावितले अस्थायी पुल र आवासको माग गर्दै शनिबार नुवाकोटमा प्रदर्शन गरेका छन्।
साविकको ढुंगे र त्रिशूली जोड्ने त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बाढीले ध्वस्त पारेपछि नदीपारिका बस्तीको आवतजावत प्रभावित भएको छ। स्थानीयले तत्काल बेलिब्रिज निर्माण गर्नुपर्ने, अस्थायी आवासको व्यवस्था गर्नुपर्ने र बाढीले क्षति पुर्याएका घरको उत्खनन तथा सरसफाइमा सहयोग गर्नुपर्ने माग राखेका छन्।
विदुर नगरपालिका–१ ढुंगे, त्रिशूली तथा नदीपारिका बस्तीका स्थानीयले प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन्। सहभागी रविन श्रेष्ठका अनुसार उनीहरूको मुख्य माग तत्काल अस्थायी पुल निर्माण गरी नदीपारिका बस्तीको आवतजावत सहज बनाउनु हो।
‘बाढीबाट क्षति पुगेका तथा पुरिएका घरको तत्काल उत्खनन गर्नुपर्ने, विदुर–१ ढुंगे र त्रिशूली जोड्ने गरी तत्काल अस्थायी पुल निर्माण गर्नुपर्ने तथा त्रिशूली नदीपारिका बस्तीको आवतजावत सहज बनाउनुपर्ने हाम्रा माग हुन्,’ उनले भने। स्थानीयले बाढी प्रभावित परिवारका लागि अस्थायी आवासको व्यवस्था गर्नुपर्ने, राहत तथा पुनःस्थापनाका कार्यक्रम प्रभावकारी बनाउनुपर्ने र जनताका समस्या समाधानमा सम्बन्धित निकाय जिम्मेवार तथा जवाफदेही हुनुपर्ने माग गरेका छन्। प्रदर्शनमा सहभागी अर्का युवा राजकुमार तामाङले बाढीपछि ढुंगे, त्रिशूलीलगायत नदीपारिका बस्तीका नागरिकले आवतजावत, आवास र दैनिक जीवनयापनमा समस्या भोगिरहेको बताए।
सरोज श्रेष्ठले बाढीले क्षति पुर्याएका तथा पुरिएका घर तत्काल उत्खनन गर्नुपर्ने र ढुंगे–त्रिशूली जोड्ने पुल निर्माणमा ढिलाइ गर्न नहुने बताए। प्रदर्शनकारीले अस्पताल जाने बाटोमा समेत अस्थायी पुल राखिनुपर्ने र त्रिशूली नदीपारिका बस्तीलाई लामो समयसम्म सडक सम्पर्कविहीन अवस्थामा राख्न नहुने माग गरेका छन्। स्थानीयका अनुसार त्रिशूली नदीमाथि अस्थायी पुल निर्माण भए राहत, पुनःस्थापना र दैनिक आवतजावतमा देखिएको समस्याको ठूलो हिस्सा समाधान हुनेछ।