भोजपुरमा बाढीले ६ वटा सडक बगाउँदा जनजीवन कष्टकर


साथसाथै न्युज
१०, साउन २०८०
भोजपुरमा बाढीले ६ वटा सडक बगाउँदा जनजीवन कष्टकर

भोजपुर- राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बनेको छ। गत जेठ ३१ र असार ८ गते आएको बाढीले उक्त खोलासित जोडिएका छवटा सडक बगाएसँगै जनजीवन कष्टर बनेको हो। 

बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा मर्मत गरेर सञ्चालनमा ल्याउनसमेत समस्या देखिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए। बाढीले ठूलो क्षति गरेकाले स्थानीय सरकारको पहुँचभन्दा बाहिर रहेको उनको भनाइ छ। 'राउते खोलाको बाढीले हाम्रो वडामा करोडौँको क्षति भएको छ', वडाध्यक्ष माङ्गपाहाङ्गले भने, 'यो खोला भएर बनेका सबै सडक बगाएको अवस्था छ। सडक अवरोध हुँदा दैनिकी निकै कष्टकर बनेको  छ। यहाँको क्षतिको विषयमा राज्यले ध्यान आवश्यक छ।'

बाढीले १६ वटा सिँचाइ कुलोसँगै एक झोलुङ्गे पुल बगाएको छ। यो खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्याएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए। टेम्केमैयुङ–९ लेखर्कमा बाढीले ठूलो क्षति गरेकाले राज्यले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ। जेठ ३१ गते राति आएको बाढीले एक इन्जिनियरको ज्यानसमेत गएको थियो।

'बाढीका कारण एक महिनादेखि यातायात सञ्चालनमा समस्या छ', उहाँले भन्नुभयो, 'खोलाले धेरै ठाउँमा कटान गरेकाले कतिपय बस्ती जोखिमा छन्। सिँचाइ कुलो बगाउँदा किसानलाई खेती गर्न समस्या रहेको छ। यस्तो अवस्था हुँदा पनि राज्यको खासै ध्यान पुगेको देखिँदैन।'

बाढीका कारण भोजपुर सदरमुकामबाट कोट पाँचधारे हुँदै छिमेकी जिल्ला खोटाङ जोड्ने यो सडक एक महिना बढी समयबाट अवरोध हुँदा जनजीवन कष्टकर बन्दै गएको स्थानीयवासी मानबहादुर सुनारले बताए। जनतामा ठूलो विपत्ति पर्दासमेत राज्यको ध्यान नगएको उहाँको भनाइ छ। 'बाढीले यति ठूलो क्षति पुर्याउँदा पनि राज्य ध्यानले नदिएको जस्तो देखिन्छ', उनले भने, 'बाढीले सडक बगाउँदा दैनिक उपभोग्य वस्तुको अभाव देखिएको छ। तत्काल पहिलाको सडक भएको स्थान मर्मत गर्न सकिने अवस्था छैन। वैकल्पिक मार्गको खोजी गरेर भए पनि यातायात सञ्चालनमा ल्याउन पहल हुन आवश्यक छ।' 

विभिन्न ठाउँमा बाढीले क्षति गरेपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय सन्तोष राईले बताउनुभयो। छिमेकी जिल्ला खोटाङसँगै वडाका नागरिकलाई अस्पताल लैजान समस्या भएको उनको भनाइ छ। सडकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको उनले बताए। 'बाढीले सडक बगाउँदा जिल्लाको पश्चिमी क्षेत्रको जनजीवन निकै कष्टर बनेको अवस्था छ', उनले भने, 'एक गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्था छ। बिरामीलाई अस्पताल पुर्याउन सकिने अवस्था छैन। उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ।'

राउते खोलाको शिरमा डाँडापाखा रहेकाले वर्षा हुनासाथ आसपासको क्षेत्रमा धेरै जोखिम रहेको स्थानीयवासी टङ्क घिमिरेले बताए। असार ८ मा खोला थुनिएर बाढी बस्तीमा पस्दा स्थानीयको घरसँगै अन्नबालीमा क्षति पुर्याएको उनको भनाइ छ। बाढीले अहिले सडक भएको स्थान गहिराएर लगेकाले अर्को ठाउँबाट सडक विस्तार गर्न आवश्यक रहेको घिमिरेको भनाइ छ।

'यो खोलाको शिर निकै ठूलो छ', उनले भने, 'खोलो थुनिएर बाढी बस्तीमा पस्दा क्षति गरेको छ। माथिल्लो भेगको धेरै ठाउँमा पहिरो गएकाले जुनसुकै अवस्थामा बाढी बस्तीमा छिर्ने देखिन्छ। त्यही स्थानबाट सडक मर्मत गरेर सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन। पहिला सर्भे भएको ठाउँबाट वैकल्पिक सडक विस्तार गर्न आवश्यक छ।' 

गाउँपालिकाले विपद् कोषबाट सडक सञ्चालनमा ल्याउन पहल गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए। तत्काललाई सडक सञ्चालनका लागि काम भइरहेको भए पनि ठूलो क्षति भएकाले राज्यका अन्य निकायबाट बजेट माग गरेर दीर्घकालीनरूपमा सडक निर्माण गर्ने योजना रहेको उनको भनाइ छ। 

'बाढीको कारण सो क्षेत्रको जनजीवन प्रभावित बनेको अवस्था छ', प्रशासकीय अधिकृत न्यौपानेले भने, 'स्थानीयको समस्यालाई ध्यानमा राखेर गाउँपालिकाको विपद् कोषबाट मर्मत गरेर सञ्चालनको तयारीमा जुटेका छौँ। धेरै ठाउँमा सडक बगाएको छ। गाउँपालिकाको बजेटले मात्र सबै ठाउँमा मर्मत गर्न असम्भव देखिएको छ। त्यसका लागि माथिल्लो निकायमा ध्यानकर्षण गराएका छौँ।'

बाढीको कारण समस्या परेका स्थानीयलाई तत्काल केही आवश्यक सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिए। पाइप वितरण गरेर खानेपानी तथा सिँचाइ कुलो सञ्चालनका लागि गाउँपालिकाले पहल गरिरहेको उनको भनाइ छ।

'बाढीको कारण निकै ठूलो क्षति भएको छ', उपाध्यक्ष राईले भने, 'सडक सञ्चालन गर्नका लागि काम सुरु गरेका छौँ। धेरै ठूलो क्षति भएकाले गाउँपालिकाको बजेटले धान्ने अवस्था छैन। क्षतिको विवरण सङ्कलन गरेर प्रदेश र केन्द्र सरकारसँग आवश्यक बजेटका लागि माग गरेका छौँ। अन्य निकायसँग पनि गाउँपालिकाले आवश्यक सहयोग जुटाउनका लागि पहल गरिरहेको छ।'

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend