दाङमा ५ वर्षमा २२८ जनाको डुबेर मृत्यु


साथसाथै न्युज
१०, साउन २०८०
दाङमा ५ वर्षमा २२८ जनाको डुबेर मृत्यु

दाङ- दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्याङ्कानुसार जिल्लामा डुबेर मृत्यु हुनेको सङ्ख्या दुई सय २८ रहेको छ। यसमा एक सय  ७४ पुरुष र ५४ महिला छन्। 

डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाअन्तर्गत छन्। तथ्याङ्कानुसार पछिल्लो पाँच वर्षमा घोराहीका ७१,  तुलसीपुरका ४५, लमहीका ३१, राप्तीका २२, गढवाका १६ जनाको मृत्यु भएको छ। यसैगरी बबईका नौ, दङ्गीशरणका आठ, शान्तिनगर र राजपुरका समान पाँच–पाँच, बङ्गलाचुलीका तीन तथा  जिल्ला बाहिरका १६ व्यक्तिको डुबेर मृत्यु भएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार जिल्लामा आव २०७९-८० मा ४५ जनाको जिल्लाका विभिन्न स्थानमा डुबेर मृत्यु भएको छ। आव २०७८-७९ मा ६३ जना, आव २०७७-७८ मा ५५, आव २०७६-७७ मा ३७ र आव २०७५-७६ मा २९ जनाको डुबेर मृत्यु भएको तथ्याङ्क छ। 

डुबेर ज्यान गुमाउनेमा २० वर्षमुनिका ८५ जना रहेका छन्।  प्रमुख जिल्ला अधिकारी वैद्यले १३ महिनाकी शिशुदेखि ८० वर्षमा वृद्धसम्मका रहेका जानकारी दिनुभयो। घोराही–९ की १३ महिनाकी शिशुको २०७८  फागुन २२ गते घर अगाडि राखेको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको थियो भने बङ्गलाचुली गाउँपालिका वडा नं ७ का ८० वर्षीय दयाराम बुढामगरको २०७९ असोज २१ गते खोला तर्ने क्रममा चिप्लेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङले डुबेर भएका मृत्युमध्ये अधिकांश लापरवाहीका कारण भएको जनाएको छ। पानीसँगको खेलवाड गर्दा कतिपय घटना बगाएर, कतिपय घटना पौडिन नजान्दा तथा कतिपय घटना भवितव्यका कारण भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए। 

'केही घटना पानीमा हामफालेर आत्महत्या गरेका पनि छन् तर अधिकांश डुबेर मरेका घटनाको अनुसन्धान गर्दा लापरवाहीका कारण भएको देखिएको छ,' उनले भने, 'पानी र आगोसँग कहिले खेलवाड गर्नु हुँदैन भन्ने जान्दाजान्दै केही हुँदैन भनेर आफैँले ज्यान गुमाएको अवस्था छ।'

जिल्लाको भौगोलिक अवस्था तथा वर्षाका समयमा सावधानी नअपनाउँदा पनि बगाएर वा डुबेर मृत्यु भएका जिल्ला प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताए। साथीभाइसँग लहैलहैमा लागेर खोला नदीमा गएर नुहाउन खोज्दा धेरैजसो युवाले पौडिन नजानेरै ज्यान गुमाएका छन्।

उनले भने, 'डुबेर अकालमा ज्यान गुमाउने युवाको सङ्ख्या जिल्लामा धेरै छ। युवा जोश देखाउँदै लापरवाहीले नै अन्तिममा ज्यान फाल्न बाध्य भएका घटना छन्।' खोलानाला तर्दा होस् या पानीको काम गर्दा निकै सावधानी अपनाउनुपर्ने प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend