काठमाडौं- देशका विभिन्न क्षेत्रमा मंगलबार बिहानैदेखि वर्षा भइरहेको छ। नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ।
नारायणी, गण्डकी, बबई, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढेको छ। रातिदेखि नै चितवन, नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान, दाङ र आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी पानी परेको हो।
ती ठाउँका नदी तटीय क्षेत्र तथा सहायक नदी र साना नदीमा पनि बाढीको जोखिम रहेको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ। महाशाखाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।
यस्तै, आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा लामो समय झरी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको भरतपुर एयरपोर्ट र दाङको बबई नदी बेसिनको सुखबारे भन्ने स्थानमा पनि अत्यधिक वर्षा हुने भएको छ।