गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो


साथसाथै न्युज
२१, वैशाख २०८१
गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो

दमक (झापा)-  पूर्वी तराईमा गर्मी अधिक बढेपछि बालबालिकामा सङ्क्रामक रोग देखिन थालेको छ । पछिल्लो समय सङ्क्रामक रोगका कारण उपचार गर्न अस्पताल आउने बिरामी बालबालिकाको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ ।

दमकमा रहेको विशिष्टीकृत किओच दमक बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा जयमणि श्रेष्ठका अनुसार गर्मीसँगै ग्यास्ट्रोइटेस्टाइनल समस्या, ज्वरो, झाडाबान्ता, जन्डिस निम्त्याउनेजस्ता सङ्क्रामक रोगको समस्या बढेको छ । गर्मीका कारण बालबालिकामा विभिन्न प्रकारका एलर्जी, फङ्गल इन्फेक्सन, सन बर्न, कीटसम्बन्धी एलर्जी, टाउको दुखाइ, थकान, आँखामा सङ्क्रमणलगायतका समस्या देखिने गरेको उनको भनाइ छ । सो अस्पतालमा अहिले दैनिक दुई सयको हाराहारीमा बालबालिका उपचार गर्न आउने गरेका छन् । यो सङ्ख्या दैनिक आउने बिरामीको दोब्बर सङ्ख्या हो । 

गर्मीको समयमा केही बच्चाले दमको लक्षणमा वृद्धि अनुभव गर्नसक्ने भएकाले पनि यो बेला अभिभावकहरुले होसियारी अपनाउनुपर्ने उनको सुझाव छ । सोही अस्पतालका बाल रोग विशेषज्ञ डा सुनिल अधिकारीले अन्य समयभन्दा गर्मीमा बालबालिकामा विभिन्न स्वास्थ्य समस्या हुने बताए । 

गर्मीमा विभिन्न ब्याक्टेरिया र भाइरस बढी बाँच्ने हुँदा खाना र पानीबाट हुने रोग निम्त्याउने पनि उनको भनाइ छ । अधिक गर्मीको यो समयमा बालबालिकाको उचित हेरचाह गर्न उनले सुझाव दिए । उनले भने, “दिनभरि प्रशस्त पानी पिउने अवस्था सिर्जना गर्न, बाहिर बजारमा पाइने कृत्रिम जुस वा चिनीयुक्त पेय पदार्थ नखान, बासी तथा सडेगलेका खाद्य वस्तुको सेवन गर्न हँुदैन, यसतर्फ बालबालिकाका अभिभावक सर्तक हुनुपर्छ ।”

दमकमा रहेको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा गर्मी बढेपछि बिरामी भई उपचार गर्न आउनेको सङ्ख्या बढेको अस्पतालका सूचना अधिकारी देवी दंगालले बताए । यस अस्पतालमा अहिले दमकसहित दक्षिणी इलाम र पाँचथरका बिरामी स्वास्थ्य बिमासहितको उपचार गर्न आउने गरेको उनको भनाइ छ । उनका अनुसार दमक अस्पतालमा दैनिक पाँच सय बढी बिरामी बहिरङ्ग सेवामा जाँच गर्न आउने गरेका छन्।

राष्ट्रिय समाचार समिति (रासस)

सम्बन्धित समाचार

  • चक्रवात ‘अर्णव’को प्रभावले बिग्रिँदै मौसम, हिमाली पर्यटनमा जोखिम

    काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात अर्णवको प्रभाव नेपालमा देखिन थालेसँगै वर्षा र हिमपातको सम्भावना

  • बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै, नेपालमा वर्षाको सम्भावना

    काठमाडौं अण्डमान सागर आसपास विकसित भई हाल बंगालको खाडीको पूर्वमध्य भागमा रहेको न्यूनचापीय प्रणाली

  • आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

    काठमाडौँ- हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend