बागलुङमा ३८ वनमा आगलागी, १५ वनको आगो नियन्त्रण बाहिर


साथसाथै न्युज
११, वैशाख २०८१
बागलुङमा ३८ वनमा आगलागी, १५ वनको आगो नियन्त्रण बाहिर

ढोरपाटन-  बागलुङको बरेङ गाउँपालिका-२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो। सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो। त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन।

त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो। एक सातापछि उक्त आगो नियन्त्रणमा आयो। त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ। दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जङ्गल रित्तिएका छन्। आगलागीले वन्यजन्तु तितरबितर बनेका छन्।

आगलागीका कारण हालसम्म मानवीय क्षति भने भएको छैन। करिब एक दर्जन गोठ र पशुचौपाया जलेको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ। फागुनदेखि हालसम्म ३८ वटा सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले जानकारी दिए।

उनका अनुसार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा लागेको आगो अहिले पनि नियन्त्रण बाहिर छ। आगो नियन्त्रणका लागि कर्मचारीसहित स्थानीय खटिएको उनको भनाइ छ। अहिले १५ वटा सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर रहेको केसीले जानकारी दिए। हालसम्म एक हजार दुई सय हेक्टरभन्दा बढी जङ्गलमा आगलागी भएको उनले बताए।

अधिकारी केसीले भने, “नागरिकको लापरबाहीका कारण धेरै वनमा आगलागी भएको हो, आगलागी हुनबाट रोक्नका लागि हामीहरूले जनचेतनामूलक कार्यक्रम गर्ने र नागरिकलाई सचेत बनाउनका लागि विभिन्न सञ्चारमाध्यमबाट सूचना प्रवाह गरिरहेका छौँ, वनमा आगो लगाउने केही व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया पनि अगाडि बढाएका छौँ, आगोले ठूलो क्षेत्रफलमा फैलिएको वनमा क्षति पु¥याएको छ।”

चार दिनदेखि निसीखोला गाउँपालिका-२ मा लागेको आगो अहिले नियन्त्रणमा लिन सकिएको छैन। उपल्लोबेङ्ग्रीदेखि सुरु भएको आगो वडा नं ४ को माझापाख हुँदै बडाचौरको बराह सामुदायिक वनमा फैलिएको छ। हावाहुरीका कारण आगो अझै नियन्त्रणमा ल्याउन नसकेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधी पौडेलले बताए।
आगो नियन्त्रणका लागि गाउँले नै लागे पनि असफल भएको उनको भनाइ छ। वडा न २ को शान्ति सामुदायिक वनबाट सुरु भएको आगो धेरै ठूलो क्षेत्रफल फैलिएको अध्यक्ष पौडेल बताउछन्।

‘खडेरी परेको धेरै लामो समय भयो, अहिलेसम्म पानी पर्न सकेको छैन, आगलागी धेरै ठाउँमा भएको छ, एउटा वनबाट सुरु भएको आगो अहिलेसम्म एक दर्जन बढी वन सखाप परेको छ, गाउँले नै उठेर अहिलेसम्म घर गोठ जोगाएका छौँ, तर वनलाई जोगाउन सकेका छैनौँ’, अध्यक्ष पौडेलले भने, ‘आगो कसले लगाएको हो भन्ने पत्ता लागेको छैन, वर्षा पनि भएको छैन, माटो पनि बल्छ, सयौँको सङ्ख्यामा मान्छे छन्, दिउँसोमा हावाहुरीले गर्दा निभाउन सकिँदैन, राति १ बजेसम्म जनता उठेर नियन्त्रण लिने कोसिस गरे पनि अझै सकिएको छैन।’

आगो नियन्त्रणका लागि गाउँगाउँबाट ठूलो सङ्ख्यामा स्थानीय वनमा पुगे पनि हावाहुरीले गर्दा नियन्त्रण गर्न नसकेको स्थानीय रामबहादुर घर्तीले बताए। शुक्रबार साँझ देखिनै आफूहरू सुरक्षित भएर स्याउलाका भरमा आगो निभाउने प्रयास गरेको उनको भनाइ छ। सडकभन्दा निकै टाढाको वनमा आगलागी हुँदा दमकलको प्रयोगसमेत गर्न नसकिएको घर्ती बताउछन्। आफूहरू रातभर जागराम बसेर आगो नियन्त्रणमा लागेको उनले बताए।

सम्बन्धित समाचार

  • बूढीगण्डकी बाढी : चार दिनमा एक हजारभन्दा बढीको उद्धार

    गोरखा, बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उत्तरी गोरखाका एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको

  • बूढीगण्डकी बाढीबाट ४५ घर पूर्ण क्षति, २७ मा आंशिक क्षति; पाँच जना बेपत्ता

    काठमाडौं, असोज २६ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट ४५ घर पूर्ण

  • बूढीगण्डकीमा बाढीको वितण्डा, घर र पुल बगायो; तटीय क्षेत्रमा उच्च जोखिम

    गोरखा, असोज २५ गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले बस्ती

  • सम्पर्क

    comming soon

    हाम्रो बारेमा

    comming soon

    हाम्रो टिम

    अध्यक्ष 
    प्रजिता कार्की
    प्रधान सम्पादक 
    बद्री सिग्देल
    कार्यकारी सम्पादक 
    दिलिप प्रकाश कार्की 
    सम्पादक (अंग्रेजी) 
    सरीता श्री ज्ञवाली
    संवाददाता 
    गोमा विष्ट
    स्तम्भ लेखक 
    प्रदीप पोखरेल


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend