धनगढी- कैलालीको गोदावरी नगरपालिका– १२, स्थित रातोपानी सामुदायिक वनमा व्यापक फँडानी भएको छ।
चुरेसँग जोडिएको सामुदायिक वनमा तस्कर समूहले करिब दुई दर्जन रूख कटान गरेर काठ तस्करी गरेको स्थानीयले बताएका छन्। सामुदायिक वनका पदाधिकारीकै संलग्नतामा केही सातायता वन फँडानी भएको उपभोक्ताको दाबी छ।
वन फँडानी भएपछि स्थानीय उपभोक्ताको टोलीले वन क्षेत्रको अनुगमन गरेको थियो। अनुगमनका क्रममा सालका २२ वटा रूख कटान भएको आफूहरूले भेटेको उपभोक्ता बम मिजारले बताए। ‘रूख काटेर वनमै काठ चिरान गरेको देखियो। हामीले २२ वटा रूख काटेको फेला पार्यौँ,’ उनले भने, ‘वनभित्र अन्यत्र पनि रूख काटिएका होलान्।’
रूख काटेर काठ तस्करीमा संलग्न भएको आरोपमा वन उपभोक्ता समूहको कार्यसमितिका दुईजना सदस्य पक्राउ परेका छन्। उपभोक्ता समितिका सदस्य टेकराज ओझा र कर्णबहादुर विकलाई पक्राउ गरेर वन मुद्दा चलाइएको सबवन डिभिजन कार्यालय अत्तरियाले जनाएको छ।
स्थानीय उपभोक्ताले सामुदायिक वनका अध्यक्षसहित पदाधिकारीको मिलेमतोमा वन फँडानी भएको आरोप लगाएका छन्। सामुदायिक वनका पदाधिकारीको संलग्नताविना ठूलो संख्यामा रूख कटान सम्भव नभएको उपभोक्ता मिजारले बताए। ढलापडा रूखको केही क्युफिट काठ कटानको अनुमति लिएर वनका पदाधिकारीले फँडानी गरेको उनले बताए।
‘कार्यसमितिकै पदाधिकारीको संलग्नता देखिएको छ। यसबारे छानबिन हुनुपर्छ,’ अर्का उपभोक्ता भीमबहादुर विकले भने, ‘वन कार्यालयले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याओस्।’ वनका कर्मचारीको समेत मिलेमतो रहेको उनले दाबी गरे। सामुदायिक वनबाट काठ तस्करीका घटना पटकपटक हुने गरेका विकले बताए।
वन फँडानी भएको खबरपछि गएको टोलीले दुईजनालाई पक्राउ गर्नुका साथै दुई सय थान चिरान कडी र ५० वटा फ्रेमसमेत बरामद गरेको सबवन डिभिजन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले जानकारी दिए।
उनले वन फँडानीमा सामुदायिक वनका पदाधिकारीसमेत संलग्न रहेको देखिएको बताएका छन्। ‘कार्यसमितिका दुई सदस्य पक्राउ परेका छन्। केही पदाधिकारीको पनि संलग्नता देखिएको छ। मुद्दा चलाउने तयारीमा छौँ,’ उनले भने।