काठमाडौं- मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम उच्च हुन्छ। वर्षाको समयमा तुलनात्मक रुपमा पहाडी भेगमा पहिरोको जोखिम बढी हुन्छ। यो वर्ष पनि बाढी तथा पहिरोले केही ठाउँमा मानवीय तथा भौतिक क्षति पुर्याइसकेको छ।
पहिरो जान नदिन विभिन्न कार्य गरेर पूर्वतयारी अपनाउन सकिन्छ। पहिरोका पूर्वसंकेतहरु पनि देखिन्छ। समयमै ती कुरामा ध्यान दिए क्षति कम गर्न सकिने भूगर्भविद्हरू बताउँछन्।
पहिरो जान नदिन बर्सातभन्दा अगाडि नै भेल–पानीलाई बस्तीनजिक अथवा कमजोर भू–भागमा एकत्रित नगरेर सुरक्षित ठाउँबाट त्यसलाई निकास दिनुपर्छ।
'बर्सातअगाडि घर वरपर साना कान्लाहरूमा चिराहरू देखिएको छ भने चिम्टाइलो माटो लगेर त्यसमा खाँदेर पुर्ने। सम्भव भएसम्म त्यसमा पानी छिर्न नपाओस् भनेर त्रिपाल वा प्लास्टिकले छोप्नु पर्छ,' राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भनेको छ, 'पुरानो पहिरो गएको स्थानमा बस्ती बसाउनु हुँदैन।'
नदी–नालाको पानीको बहावलाई जमिन कटान हुन नदिने गरी व्यवस्थापन गर्नुपर्ने र यसमा विभिन्न इन्जिनियरिङ डिजाइनहरू पनि हुने प्राधिकरणको भनाइ छ।
'जथाभावी डोजर, एक्साभेटर प्रयोग गर्नु हुँदैन। भिरालो डाँडा वा पहाडको मुनि बस्ती बसाल्नु हुँदैन,' प्राधिकरणले भनेको छ।